काठमाडौं – लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विज्ञापन खोल्न वा पदपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेर सरकारले आयोगको स्वायत्ततामा हस्तक्षेप गरको भन्दै युवाहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगको स्वायत्ततामा अंकुश लगाउने सचिवस्तरीय निर्णय तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै उनीहरुले हाल कार्यरत करार कर्मचारीहरूमध्ये १० प्रतिशतलाई मात्र कार्यसम्पादनका आधारमा निरन्तरता दिइने र बाँकी ९० प्रतिशतलाई हटाएर खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गरिनुपर्ने माग गरेका छन् ।
लोकसेवा आयोगले विज्ञापन नै नखोल्ने अवस्था आएमा विद्यार्थीहरूले गरेको मिहिनेत, तयारी र पढाइको कुनै मूल्याङ्कन नहुने भएकाले सबै परीक्षार्थीहरूलाई आफ्नो हक–अधिकारका लागि आन्दोलनमा सक्रिय सहभागी हुन युवाहरुले आग्रह गरेका छन् ।




























































