काठमाडौँ(रासस)– ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ
सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ
जब याद आउँछ दुःशासन र द्रौपदीको
शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’


ADVERTISEMENT


गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलले आफू मुक्तककार पनि रहेको परिचय आज यहाँ २५ मुक्तक वाचन गरी दिएका छन् ।


ADVERTISEMENT

# # #


सांस्कृतिक संस्थान र डिएमपिएस पूर्वविद्यार्थी समाज सानोठिमीको आयोजनामा आज यहाँ भएको एकल मुक्तक वाचन र साङ्गीतिक कार्यक्रममा उनले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय उठाएका थिए ।

कार्यक्रममा साहित्यकार चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताएका छन् । साहित्यकार राजेन्द्र थापाले मुक्तक गाह्रो विधा भए पनि यसले लाखौँ मानिसलाई मन्त्रमुग्ध बनाउन सक्ने विचार राखेका छन् ।

संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महीनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताएका छन् । कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाएका थिए ।

‘आजभोलि तँ त साह्रै बेइमान भइस् ऐना
मेरो थिइस् मेरैविरुद्धमा लागिस् ऐना
कति धेरै खुशी थिएँ आफूलाई जवान ठान्दा
सोध्दै नसोधी मेरो उमेर भन्दिइस् ऐना ।’