काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम र त्यसबाट सिर्जित असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार जारी अपिलमा नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको बताएको छ।
नाडाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट गरेको छ।
विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षा र सामाजिक सद्भाव मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा सम्पूर्ण व्यवसायी समुदाय चिन्तित बनेको नाडाले जनाएको छ।
नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा, नागरिकको जनधनको संरक्षण तथा सामान्य जनजीवन र व्यवसायिक वातावरण यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।
नाडाले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ।



























































