काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममार्फत फैलाइएका भ्रमपूर्ण, अपुष्ट र मिथ्या सूचनाबाट सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि विषयमा सार्वजनिक धारणा व्यक्त गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्नुपर्नेमा जोड दिए। अपुष्ट सूचना, अफवाह वा भावनात्मक प्रचारका आधारमा प्रतिक्रिया जनाउँदा समाजमा अन्योल, अविश्वास र तनाव बढ्ने भएकाले जिम्मेवार राजनीतिक नेतृत्वले संयमता अपनाउनुपर्ने उनको भनाइ छ।
थापाले अहिलेको संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू अझ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै नेपाली कांग्रेसले समाजमा शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले सत्य र तथ्यमा आधारित राजनीति नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा देखिएका सबै सामग्रीलाई सत्य मानेर साझा नगर्न आग्रह गरेका छन्।
उनले कुनै पनि घटनाको वास्तविकता सम्बन्धित निकायबाट पुष्टि भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै अफवाह फैलाउने वा समाजलाई विभाजित गर्ने गतिविधिबाट टाढा रहन निर्देशन दिएका छन्। उनका अनुसार गलत सूचना र भ्रामक प्रचारले सामाजिक सद्भाव बिगार्ने मात्र होइन, कानुन–व्यवस्था र लोकतान्त्रिक मूल्य–मान्यतामा समेत नकारात्मक असर पार्न सक्छ।
सभापति थापाले “आगो कसले लगाए पनि निभाउने काम कांग्रेसको हो” भन्दै नेपाली कांग्रेस सधैं जिम्मेवार राजनीतिक शक्तिका रूपमा उभिएको बताए। उनले समाजमा द्वन्द्व र विभाजन बढाउने होइन, संवाद, संयम र सहकार्यबाट समस्याको समाधान खोज्नु कांग्रेसको मूल दायित्व रहेको उल्लेख गरेका छन्।
उनले नेता तथा कार्यकर्तालाई उत्तेजनाभन्दा विवेकलाई प्राथमिकता दिन, तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न तथा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरे। साथै, नागरिकमा भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधिको पछि नलागी जिम्मेवार राजनीतिक संस्कृतिको विकासमा योगदान दिनुपर्नेमा उनले विशेष जोड दिएका छन्।



























































