ललितपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालबालिकाको सुरक्षित डिजिटल भविष्य सुनिश्चित गर्न समयानुकूल नीति, प्रभावकारी कानुनी व्यवस्था र सबै सरोकारवालाबीच सुदृढ समन्वय अपरिहार्य रहेको बताएका छन्।


ADVERTISEMENT


ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित ‘बाल अनलाइन सुरक्षास् चुनौती, आवश्यकता र आगामी कार्यदिशा’ विषयक बागमती प्रदेशस्तरीय नीति संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सूचना तथा प्रविधिको तीव्र विकाससँगै बालबालिकाको इन्टरनेट पहुँच विस्तार हुनु सकारात्मक भए पनि साइबर बुलिङ, अनलाइन दुर्व्यवहार, डिजिटल ठगी, भ्रामक सामग्री तथा गोपनीयता उल्लङ्घनजस्ता जोखिमसमेत बढ्दै गएको उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले बालबालिकाका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु सरकारको मात्र नभई अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा सम्बन्धित सबै निकायको साझा जिम्मेवारी भएको बताएका छन्। उनले बालमैत्री डिजिटल नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र डिजिटल साक्षरतामा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याएका छन् ।

उनले बागमती प्रदेश सरकारले बाल अधिकारको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सुरक्षित, जिम्मेवार र मर्यादित डिजिटल वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रविधिको सदुपयोगमार्फत बालबालिकालाई सिर्जनशील, सक्षम र जिम्मेवार नागरिकका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, बाल अधिकारकर्मी, शिक्षाविद्, सुरक्षा निकाय, नागरिक समाज तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नीति संवादमा बाल अनलाइन सुरक्षाका वर्तमान चुनौती, आवश्यक नीतिगत सुधार तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको छ।