काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा मात्र सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना तथा वित्तीय स्थायित्व सरकार र बैंकिङ क्षेत्रको साझा उद्देश्य भएको बताएका छन्।
उनले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, निजी क्षेत्रको लगानी विस्तार गर्ने, उत्पादन वृद्धि गर्ने तथा नेपाललाई उच्च आर्थिक वृद्धि र उच्च उत्पादकत्वको चरणमा पुर्याउन सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्र र बैंकिङ क्षेत्रलाई विश्वासको वातावरण प्रदान गर्न सरकार तयार रहेको बताउँदै लगानीमा देखिएका नीतिगत तथा कानुनी अवरोध हटाउन आवश्यक पहल गरिने जानकारी दिएका छन्। उनले सकल गार्हस्थ्य उत्पादन (जीडीपी) र प्रतिव्यक्ति आय वृद्धि गर्ने लक्ष्य हासिल गर्न सरकार सबै सरोकारवालासँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
छलफलमा सहभागी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आयात घटाउने, निर्यात बढाउने, शोधान्तर स्थिति सुधार गर्ने तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा केन्द्रित भएर छलफल भएको जानकारी दिएका छन्।
उनले बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी प्रवाह बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत सहकार्यको अपेक्षा गरेको बताएका छन्। छलफलमा आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको मनोबल वृद्धि र लगानीमैत्री वातावरण निर्माणका उपायबारे पनि व्यापक विचार-विमर्श भएको जनाइएको छ।



























































