विराटनगर(रासस)–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी बजेटमा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।


ADVERTISEMENT


प्रदेशस्तरीय १०औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आज अपराह्न उद्घाटन गर्दै उनले खेलाडीको वृत्तिविकासका लागि प्रदेशमा रंगशाला, प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्था गर्ने जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


खेलाडीले खेलकुदका माध्यमबाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी अन्तर्राष्ट्रियस्तरमा देशको नाम उचाइमा पु¥याउनुपर्नेमा जोड दिँदै उनले सरकारले खेलकुदलाई विकास र समृद्धिको एउटा महत्वपूर्ण अंग मानेको बताए ।

उनले मुलुकमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा मुलुकमा खेलकुदको महत्व धेरै रहेको बताउँदै खेलाडीले अनुशासन कायम गरी जिल्ला, प्रदेश र देशको नाम उज्वल राख्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले नेपाली जनता एक ढिक्का भएको अहिलेको अवस्थामा जनताले आफ्नो कानून बनाइरहेको तथा मुलुकमा सुशासन कायम गरी नयाँ युगमा प्रवेश गरेकाले जनताको विकास र समृद्धिको चाहना पूरा हुने धारणा व्यक्त गरेका छन् ।

पूर्वाञ्चल खेलकुद परिषद्का अध्यक्ष रवीन नगरकोटीको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशरबहादुर विष्टको उपस्थिति रहेको थियो ।

जेठ २१ गतेसम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा प्रदेश नं १ का १४ जिल्लाका ९५० जना विभिन्न विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुनेछ भने उसु, कराते, एथ्लेटिक्स, भलिबल, तेक्वान्दो र कबड्डी छ विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँमा हुने राष्ट्रियस्तरको १०औँ राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।