काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक भविष्यको निर्णायक शक्ति नेपाली जनता नै भएको बताएका छन्।
बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेताकार्यकर्तालाई सम्बोधन गर्दै देउवाले जनताको चाहनाभन्दा ठूलो राजनीतिक शक्ति अरू केही नरहेको धारणा राखेका छन्।
गणतन्त्र आफ्नो व्यक्तिगत इच्छाले आएको वा जाने विषय नभएको उल्लेख गर्दै उनले यसको स्थापना संविधानसभाबाट भएको बताए।
‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले ल्याएको हो ?’ भन्दै देउवाले भने, ‘मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि।’
उनले नेपालको राजनीतिक व्यवस्थाको भविष्यबारे निर्णय गर्ने अधिकार पनि जनतामै रहेको बताए। ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो । यो मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भने।
देउवाले पछिल्लो राजनीतिक परिस्थितिमा न्यायपालिकाको भूमिकाप्रति पनि आफ्नो विश्वास रहेको बताए। नेपाली जनता र अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतले लामो समयदेखि निष्पक्ष न्याय दिँदै आएको बताए।
‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो । यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ उनले भने।
स्वदेश फर्किएपछि पहिलोपटक नेताकार्यकर्तामाझ सम्बोधन गरेका देउवाले आगामी दिनमा पनि आफू राजनीतिक रूपमा सक्रिय रहने संकेत गरेका छन्। उनले ‘भोलिका दिनमा पनि लडिरहन्छु’ भन्दै आफ्नो संघर्ष जारी रहने बताएका छन्।
देउवाको पछिल्लो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिस्थितिबीच आएको महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।



























































