काठमाडौं- मानव सेवा आश्रम हेटौंडामा आश्रित पाँच बालिकाहरूको गुन्युचोली कार्यक्रम विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको विशेष उपस्थिति रहेको छ ।
गुन्युचोली कार्यक्रममा मुख्यमन्त्री बानियाँले मानव सेवा आश्रममा आश्रित पाँचै बालिकालाई शुभआशीर्वाद प्रदान गर्दै उनीहरूको सुखद, सुरक्षित र उज्ज्वल भविष्यको कामना गरेका छन्। उनले बालिकाहरूको जीवनमा नयाँ खुसी र उत्साह थप्ने यस्ता कार्यक्रमले सामाजिक सद्भाव, अपनत्व र मानवीयताको भावना अझ बलियो बनाउने बताएका छन्।
कार्यक्रममा बालिकाहरूलाई परम्परागत गुन्युचोली पहिराइदिँदै उनीहरूको जीवनको महत्वपूर्ण संस्कारलाई खुसी र आत्मीयताका साथ मनाइएको थियो। परिवारको प्रत्यक्ष साथ र संरक्षणबाट टाढा रहेका बालिकाहरूलाई आफ्नै परिवारका सदस्यसरह माया, सम्मान र अपनत्व प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
मुख्यमन्त्री बानियाँले मानव सेवा आश्रमले बेसहारा, अभिभावकविहीन तथा सहयोगको आवश्यकता रहेका नागरिकको संरक्षण र सेवामा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन्। समाजमा कोही पनि व्यक्ति आफ्नो अवस्थाका कारण एक्लो र असहाय महसुस गर्न नपरोस् भन्ने भावना विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाई छ।
उनले बालबालिका तथा युवाको संरक्षण, शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि राज्यसँगै समाज र समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताएका छन्। यस्ता मानवीय कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा आश्रमका प्रतिनिधि, कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको छ। उपस्थित अतिथिहरूले पनि पाँचै बालिकालाई शुभकामना तथा आशीर्वाद दिँदै उनीहरूको आगामी जीवन सुखमय र सफल रहोस् भन्ने कामना समेत गरेका छन् ।
मानव सेवा आश्रममा आयोजित गुन्युचोली कार्यक्रमले संस्कार र परम्परासँगै मानवीय संवेदना, माया, संरक्षण र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ। बालिकाहरूको अनुहारमा देखिएको खुसी र उत्साहले कार्यक्रमलाई थप भावुक तथा स्मरणीय बनाएको छ।



























































