काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने सहमति भएको हो ।
बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन् । सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम रहोस् भन्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको उनले बताएका छन् ।
डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गर्ने निर्णय गरिएको सभापति बुढाथोलीले जानकारी दिए । समितिमा शुक्रबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने जानकारी दिएका छन् ।





























































