काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित घण्टी घरमा सुरु भएको छ।
बैठकमा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको तयारीदेखि पार्टीको संगठनात्मक व्यवस्थापनसम्मका विषयमा छलफल भइरहेको छ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने विषय बैठकको प्राथमिकतामा छ।
त्यस्तै, केन्द्रीय समिति, पदाधिकारी, सचिवालय तथा विभिन्न विभागका प्रमुख मनोनयनबारे पनि निर्णय गर्ने कार्यसूची रहेको छ। स्थानीय तहका उम्मेदवार छनोट समितिमा रहने सदस्यको मनोनयनसमेत बैठकले टुंग्याउनेछ।
बैठकले स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गर्नेछ। साथै, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि समेत छलफल हुने बताइएको छ।





























































