काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।


ADVERTISEMENT


अधिकारकर्मी तथा गरिमाका आफन्तहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्। प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।


ADVERTISEMENT

# # #


गरिमाको न्यायका लागि उनका परिवारले बारामा पनि निरन्तर आन्दोलन गरिरहेका छन्। आमा–बुवासहित परिवारजन सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि प्रभावित भएको छ।

स्थानीय प्रशासन र केही व्यक्तिबीच बिहीबार राति सहमति भए पनि मृतक परिवारले आफूहरूको जानकारी र सहमतिबिना गरिएको भन्दै उक्त सहमति अस्वीकार गरेका छन्।

गरिमाका बुबा मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं आएर घटनाका दोषीलाई कारबाही तथा आवश्यक कानुनी सुधारका लागि प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।