काठमाडौं-  रोयल इन्फिल्डले नेपाली बजारमा ‘क्लासिक ३५० गोर्खा एडिसन’ सार्वजनिक गरेको छ । गोर्खा समुदायको साहस, वीरता, दृढता र गौरवपूर्ण इतिहासबाट प्रेरित भएर कम्पनीले यो विशेष संस्करण ल्याएको जनाएको छ ।


ADVERTISEMENT


कम्पनीका अनुसार नयाँ क्लासिक ३५० लाई विशेष ‘गोर्खा ग्रिन’ रंगमा तयार गरिएको छ । मोटरसाइकलमा गोर्खा विरासतको पहिचानका रूपमा क्रस्ड खुकुरीको विशेष लोगो राखिएको छ । साथै, सहज र स्मूथ गियर परिवर्तनका लागि असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध गराइएको छ ।


ADVERTISEMENT

# # #


क्लासिक ३५० को मौलिक डिजाइन, अपराइट राइडिङ पोस्चर र जे–सिरिजको राइडिङ अनुभवलाई नयाँ संस्करणमा पनि निरन्तरता दिइएको रोयल इन्फिल्डले जनाएको छ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलरियाले क्लासिक ३५० गोर्खा एडिसनमार्फत नेपालमा गहिरो जरा गाडेको गोर्खा विरासतलाई सम्मान गर्न खोजिएको बताए । उनका अनुसार मोटरसाइकलका हरेक पक्षमा गोर्खा समुदायको साहस, निष्ठा र सम्मानको भाव झल्काउने प्रयास गरिएको छ ।

यसै अवसरमा कम्पनीले ‘गोर्खा कलेक्सन’ समेत सार्वजनिक गरेको छ । गोर्खा विरासतबाट प्रेरित उक्त कलेक्सनमा राइडिङ गियर, पोसाक, हेल्मेट, बुट, हेडगियर तथा विभिन्न लाइफस्टाइल सामग्री समावेश छन् । कलेक्सनमा गोर्खा ग्रिन, रेजिमेन्टल क्रिमसन, ओलिभ ग्रिन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रंग प्रयोग गरिएको छ ।

नेपालमा क्लासिक ३५० गोर्खा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मोटरसाइकल नेपालभरका रोयल इन्फिल्डका अधिकृत डिलरबाट बिक्री हुने कम्पनीले जनाएको छ ।