हुम्ला – हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा सोमबार राति आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति करिब १ बजेको समयमा कार्यालयको भवनमा आगलागी भएको हो ।
प्रहरीका अनुसार गाउँपालिका भवनको लेखा शाखाअन्तर्गत रहेको स्टोरबाट आगो फैलिएको थियो। विद्युत्को तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बिहान ३ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट स्टोरमा रहेका चार थान काठका र्याक, एक थान सुत्ने खाट, एक थान टेबल र एक थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्। घटनाबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।





























































