काठमाडौं – उद्घाटन भएको करिब एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि सञ्चालनमा आएको छ। बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु अट्ने कार, जीप र भ्यानलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो।
सुरुङमार्गलाई हाल परीक्षणका रूपमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ। परीक्षण अवधिमा सवारीसाधनबाट कुनै शुल्क नलिइने जनाइएको छ।
सवारी सञ्चालनको पहिलो चरणमा चालकले भोग्ने समस्या र अनुभवको अध्ययन गरिनेछ। त्यसपछि अन्य प्रकारका सवारीलाई पनि क्रमशः सुरुङमा प्रवेश दिने तयारी गरिएको सुरक्षा युनिटले जनाएको छ।
सुरुङभित्र सवारीको गति अधिकतम ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ। हेडलाइट अनिवार्य गरिएको छ भने सुरुङभित्र सवारी रोक्न र ओभरटेक गर्न निषेध गरिएको छ। पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश दिइने छैन।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। नियमित सञ्चालनमा आएपछि सवारीको प्रकारअनुसार शुल्क लिइनेछ।





























































