सुर्खेत – कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको सोमबार तय गरिएको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। मन्त्रीको नाम टुंगो लगाउने विषयमा सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीभित्र सहमति जुट्न नसकेपछि शपथ रोकिएको हो।


ADVERTISEMENT


मुख्यमन्त्री मंगलबहादुर शाहीले बिहान ११ बजे शपथका लागि प्रदेश प्रमुखको कार्यालयसँग समय मागेका थिए। कार्यालयले समय तय गरे पनि मुख्यमन्त्रीले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए।


ADVERTISEMENT

# # #


एमाले र नेकपाबीचको सत्ता साझेदारीअनुसार नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन्। भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।

नेकपाभित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि विवाद थप पेचिलो बनेको नेताहरू बताउँछन्। पूर्वसमाजवादी धारले समेत आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दाबी गरेपछि नाम छनोटमा सहमति जुट्न नसकेको हो।

मन्त्रीका लागि पूर्वअर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा रहे पनि अन्तिम निर्णय हुन सकेन। मुख्यमन्त्री शाही नेतृत्वमा सरकार बनेको २८ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।