काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्नुपर्नेमा जोड दिएकी छन्। उनले अहिले प्रस्तावित संशोधनले बैंकिङ क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताएकी हुन्।


ADVERTISEMENT


सांसद अधिकारीले बैंक तथा वित्तीय संस्थामा देखिने सामान्य समस्यालाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग मात्र जोड्नु उपयुक्त नहुने बताइन्। उनका अनुसार हरेक समस्याको जिम्मेवारी नेतृत्वको योग्यता वा क्षमतामाथि थोपर्दा सक्षम व्यक्तिहरूलाई नेतृत्वमा आउन निरुत्साहित गर्ने अवस्था सिर्जना हुन सक्छ।


ADVERTISEMENT

# # #


उनले यस्तो व्यवस्थाले बैंकिङ संस्थामा नेतृत्वको रिक्तता सिर्जना हुन सक्नेतर्फ पनि ध्यानाकर्षण गराइन्। बैंकिङ क्षेत्रको समस्या समाधान गर्न व्यक्तिमाथि केन्द्रित हुनेभन्दा संस्थागत र कानुनी सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ।

अधिकारीले बाफिया संशोधनलाई बैंकिङ क्षेत्र सुधारको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताइन्। ऐन संशोधन गर्दा बैंक तथा वित्तीय संस्थाले भोगिरहेका व्यावहारिक समस्या, नियमनका चुनौती र संस्थागत सुशासनका विषयलाई समेत समेटिनुपर्ने उनको सुझाव छ।

उनले बैंकिङ क्षेत्रमा देखिएका समस्याको तात्कालिक समाधानसँगै दीर्घकालीन सुधारको आधार तयार गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। त्यसका लागि प्रस्तावित बाफिया संशोधनमा सम्बन्धित विषयलाई गम्भीरतापूर्वक समेट्न उनले आग्रह गरेकी छन्।

सांसद अधिकारीका अनुसार बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले ऐन संशोधन गर्दा कुनै एक पक्षलाई मात्र केन्द्रमा नराखी बैंक, सञ्चालक, सीईओ, नियामक निकाय र सेवाग्राही सबैको हितलाई ध्यानमा राख्नुपर्ने आवश्यकता छ।