काठमाडौं – नेपालको अटोमोबाइल बजारमा नयाँ मोडल र स्वदेशी उत्पादनको प्रदर्शनलाई केन्द्रमा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १८औँ संस्करणको प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका छन् ।
यस वर्षको अटो शोमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनतर्फ ५३ ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
यस पटकको विशेष आकर्षण भनेको नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई दिइएको प्राथमिकता हो । प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन राखिएको छ ।
उक्त प्याभिलियनमा नेपाली कम्पनीले उत्पादन गरेका विद्युतीय मोटरसाइकल, स्कुटर, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री प्रदर्शन गरिएको छ । यात्रीसहित करिब आठ नेपाली उत्पादकले स्वदेशी उत्पादन प्रदर्शनीमा राखेका छन् ।
प्यासेन्जर कारतर्फ बीवाईडी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, स्कोडा, चांगन, जीली, एमजी, ओमोडा, जेको, जीडब्ल्यूएम, लीपमोटरलगायतका ब्रान्ड सहभागी छन् । दुईपांग्रे र व्यावसायिक सवारीतर्फ पनि विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको छ ।
नाडाका अनुसार अटो शोमा सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स र ग्यारेज उपकरणका २०० भन्दा बढी स्टल रहेका छन् । प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण र नेपाली उत्पादनसहित विभिन्न प्याभिलियनमा विभाजन गरिएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अटोमोबाइल क्षेत्रमा आयातमा मात्रै निर्भर नरही उत्पादन र आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको बताएका छन् । उनका अनुसार पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रमा बिक्रीदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन् ।
अटो शोमा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ । प्रदर्शनीमा पार्किङ, ट्राफिक व्यवस्थापन, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
नेपाली उत्पादनसँगै विश्वका विभिन्न ब्रान्डका नयाँ मोडल एउटै मञ्चमा प्रदर्शन भएकाले यस वर्षको नाडा अटो शो नेपालको अटोमोबाइल बजार आयातबाट उत्पादनतर्फ अघि बढिरहेको संकेतका रूपमा हेरिएको छ ।






























































