काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने घोषणा गरेको उल्लेख छ।
भोटेकोशी बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ। राष्ट्रपति पौडेलको यो सहयोग पनि बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग हुने जनाइएको छ।
































































