काठमाडौं – भारतले बाढीपहिरो प्रभावित नेपालमा खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन प्राविधिक जनशक्ति र राहत सामग्री पठाएको छ।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत ११ टन राहत सामग्रीसहित सुरुङ उद्धारका प्राविधिक र फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आएको छ। डीएनए परीक्षणका लागि आवश्यक उपकरणसमेत टोलीसँग ल्याइएको छ।
भारतले सडक तथा पुलमा भएको क्षतिपछि यातायात सञ्चालन सहज बनाउन पनि सहयोग अघि बढाएको छ। २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ ट्रक नेपालतर्फ पठाइएको छ। थप सातवटा बेली ब्रिज जडानका लागि आवश्यक उपकरण र प्राविधिक टोलीसमेत छिट्टै नेपाल आउने भारतले जनाएको छ।
भारतका अनुसार हालसम्म औषधि, खाद्य सामग्री, जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट र प्राविधिक उपकरणसहित ६८ दशमलव ५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ।

































































