हेटौंडा- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
कांग्रेस बागमती प्रदेश कार्यसमितिको तर्फबाट उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो। कांग्रेसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराउने जनाएको छ।
बैठकले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको भन्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। प्रदेश सरकार मातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न तथा दीर्घरोगीका लागि उपलब्ध गराइँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिनसमेत ध्यानाकर्षण गराइएको छ।
बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णय गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सरकारी निकायसँग समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी आवश्यक काम अघि बढाउनेछ।
बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था गर्न कांग्रेसले प्रदेश सरकारसँग आग्रह गरेको छ। साथै आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न माग गरिएको छ।
बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागका सदस्यसचिव रामेश्वर ढकालकी धर्मपत्नी शुभद्रा ढकालको गोसाइँकुण्ड क्षेत्रमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
































































