काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले नेपाल भलिबल लिग (एनभीएल) ले महत्वपूर्ण निर्णय गरेको छ ।
नेपाल भलिबल लिगले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको पहिलो दिन भदौ १९ गतेको खेलका लागि टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको हो । लिगले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, संकटको घडीमा नेपाल सरकारको साथमा रहेको जनाएको छ ।
नेपाल भलिबल लिगका सीओओ विकास खेतानका अनुसार एनभीएलका सबै खेलको टिकट आईएमई खल्ती लिमिटेड मार्फत खरिद गर्न सकिनेछ । त्यस्तै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना स्थलमै राखिने काउन्टरबाट पनि भौतिक रूपमा टिकट खरिद गर्न सकिने छ । एनभीएलको टिकट बुकिङ २०८३ भदौ १४ गतेदेखि आईएमई खल्तीमार्फत खुला गरिएको छ ।
नेपाल भलिबल लिगका सीओओ विकास खेतानले विज्ञप्तिमार्फत बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाका लागि आफ्नोतर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्।































































