काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ । ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदैछन् र, भ्रमणको तयारी अन्तिम चरणमा छ ।


ADVERTISEMENT


१४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयनले अपेक्षाकृत गति लिन नसकिरहेका बेला ओली प्रधानमन्त्रीका रुपमा फेरि चीन जाँदैछन् । यो भ्रमणमा विगतका सहमति कार्यान्वयनसँगै रेलबारे के सम्झौता होला भन्ने चासो सबैलाई छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले कुनै पनि सार्वजनिक कार्यक्रममा सकभर रेलको चर्चा गर्न छुटाएका छैनन् । उनको भाषण मान्ने हो भने केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म रेल चढ्नेमा ढुक्क भए हुन्छ । तर, अहिले भइरहेको पूर्व सम्भाव्यता अध्ययन सकिएपछि मात्रै यसको निर्माण सम्भव छ वा छैन भन्ने टुंगो लाग्नेछ ।

प्रधानमन्त्री ओली भने केरुङ–काठमाडौं रेलमार्गलाई जसरी पनि अघि बढाउने ‘मुड’मा देखिन्छन् । स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच रसुवागढी–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने समझदारी हुनेछ ।

अहिले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ । पूर्वसम्भाव्यता अध्ययनले निर्माण संभव हुने देखाएपछि मात्रै डीपीआर निर्माण अघि बढाइनेछ । पूर्वसम्भाव्यता अध्ययन नसकिएका कारण यसपाली भने सम्भाव्यता अध्ययन अघि बढाउने मात्रै सम्झौता हुने स्रोत बताउँछ ।

‘ओलीको भ्रमणपछि चिनियाँ राष्ट्रपति शी जिङपिङ पनि नेपाल आउने चर्चा छ, त्यसबेलासम्म पूर्वसम्भाव्यता अध्ययनको पनि रिपोर्ट आइसक्छ,’ स्रोतले भन्यो, ‘पूर्वसम्भाव्यता अध्ययनमा निर्माण सम्भव देखियो भने चिनियाँ राष्ट्रपति नेपालका आउँदा डीपीआर र निर्माण सम्झौता गर्ने सरकारको योजना छ ।’