काठमाडौं – डा. अबुल हुसेन अन्सारीद्वारा रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग
अबुल हुसेन अन्सारीले रसुवाका बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
बाढी प्रभावित क्षेत्रका नागरिकको सहायताका लागि अन्सारीले सोमबार उक्त रकम कोषको खातामा जम्मा गराएका हुन्।
यसअघि पनि संकटको घडीमा मलम लगाउने उद्देश्यले उनको टोलीले प्रभावित क्षेत्रमा तीन लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधी तथा मेडिकल सामग्रीहरू हस्तान्तरण गरिसकेको छ।
नगद सहयोग हस्तान्तरण गर्दै डा. अन्सारीले विपत्तिको यो समयमा बाढीपीडितको पुनःस्थापना र राहतका लागि सबै क्षेत्रबाट सहयोगको हात बढाउनुपर्ने बताएका छन्। उनले एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले सकेको सहयोग गरेर घाउमा मलम लगाउनु पर्ने धारणा राखेका हुन्।
उनले मुलुकमा कुनै विपत्ति हुँदा विभिन्न समयमा सहयोग गर्दै आएका छन्। अन्सारी नेकपा एमालेका नेता समेत हुन्।































































