काठमाडौं – रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ ।
के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल , बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो । विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो । विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ । संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ ।
दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।































































