काठमाडौं – नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले ICT Awards र NAS-IT बीच सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सहकार्यअन्तर्गत ICT Awards मार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित APICTA Awards मा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइनेछ ।


ADVERTISEMENT

# # #


समझदारीअनुसार ICT Awards मा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकलाई APICTA Awards का लागि आवश्यक योग्यता तथा विधा छनोट, आवेदन र मनोनयन प्रक्रिया, प्रस्तुति तयारीलगायत विषयमा सहयोग गरिनेछ । यससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न र आफ्ना प्रविधि तथा उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिनेछ ।

ICT Foundation Nepal का Chairperson राजन लम्सालले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु ICT Awards को यात्राको स्वाभाविक अर्को चरण भएको बताए । “ICT Awards ले नेपालमा भइरहेका उत्कृष्ट प्रविधि र नवप्रवर्तनलाई पहिचान गर्ने काम गर्दै आएको छ । अब ती उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर विस्तार गर्नु आवश्यक छ । APICTA सम्म पुग्ने प्रक्रियामा आवश्यक सहजीकरण गर्न सकिए नेपाली प्रतिभाले आफ्नो क्षमता अझ व्यापक रूपमा प्रस्तुत गर्न सक्छन्,” लम्सालले भने ।
NAS-IT का President दिपेन चापागाईंले सहकार्यलाई नेपाली प्रविधि उद्योगका लागि अन्तर्राष्ट्रिय बजार, नेटवर्क र व्यवसायिक सम्भावनासँग जोडिने अवसरका रूपमा व्याख्या गरे ।

“अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनु भनेको अवार्ड प्राप्त गर्ने प्रयास मात्र होइन, विश्व बजारमा आफ्नो उत्पादन र क्षमताको पहिचान बनाउने अवसर पनि हो । नेपाली कम्पनी तथा स्टार्टअपलाई यस्ता अवसरसँग जोड्न संस्थागत सहकार्य महत्वपूर्ण हुन्छ । यस पहलले उनीहरूलाई अन्तर्राष्ट्रिय इकोसिस्टमसँग नजिकबाट जोडिन मद्दत गर्नेछ,” चापागाईंले भने ।

NAS-IT का Past President गौरव राज पाण्डेले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी हुँदा नेपाली प्रविधि क्षेत्रको क्षमता विश्वसामु प्रस्तुत हुने बताए । उनका अनुसार यस्ता मञ्चले नेपाली कम्पनीलाई आफ्नो समाधानको अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गर्दै सुधारका सम्भावना पहिचान गर्ने अवसर समेत दिन्छन् ।

“नेपाली प्रविधि क्षेत्रले पछिल्ला वर्षमा उल्लेख्य प्रगति गरेको छ । अब हाम्रो ध्यान आफ्ना उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै विश्वस्तरीय मापदण्डसँग प्रतिस्पर्धा गर्नेतर्फ केन्द्रित हुनुपर्छ । APICTA जस्ता मञ्चमा नेपाली कम्पनी र नवप्रवर्तकको सहभागिता बढ्नुले उनीहरूको क्षमता प्रदर्शनसँगै नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्नेछ,” पाण्डेले भने ।

ICT Awards र NAS-IT बीचको यो सहकार्यले नेपालमा पहिचान भएका प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउने एउटा संस्थागत संयन्त्र निर्माण गर्ने अपेक्षा गरिएको छ । यसबाट नेपाली कम्पनी तथा स्टार्टअपले अन्तर्राष्ट्रिय अवार्ड प्रक्रियामा सहभागी हुने अनुभव हासिल गर्नुका साथै आफ्ना प्रविधि समाधानलाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

APICTA Awards एसिया–प्रशान्त क्षेत्रका सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र उपलब्धिलाई सम्मान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । यस मञ्चमा नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकको सहभागिता विस्तार गर्ने उद्देश्यले गरिएको सहकार्यलाई नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।