धनगढी – एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’

यसअघि १३ जेठमा सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईमा जाँदै गर्दा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरेर रकम लुटेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।

उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।