काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत सहयोगलाई निरन्तरता दिएको छ।


ADVERTISEMENT


भारतबाट २१.५ टन राहत सामग्री बोकेका छैटौँ र सातौँ C-130J विमान काठमाडौं आइपुगेका छन्। विमानमार्फत फोरेन्सिक किट, चिकित्सा सामग्रीलगायत अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो।


ADVERTISEMENT

# # #


काठमाडौं आइपुगेको राहत सामग्री विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। भारतका लागि नेपालस्थित राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।

फोरेन्सिक किट तथा चिकित्सा सामग्रीले रसुवा बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, शव पहिचान र स्वास्थ्य उपचारसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रसुवा विपत्तिपछि भारतले राहत सामग्रीसँगै नेपाललाई फोरेन्सिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ। पछिल्ला दुई राहत उडानसँगै भारतको राहत अभियान थप विस्तार भएको छ।