काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता उद्धार कार्य नै भए पनि त्यसपछि घटनाका कमजोरीहरूबारे संसद् र जनस्तरमा निष्पक्ष बहस हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


नेपालका विभिन्न स्थानमा बनिरहेका हाइड्रोपावर र सुरुङहरूमा विपद्का बेला हुनसक्ने जोखिम न्यूनीकरण र उद्धार कार्य निकै चुनौतीपूर्ण देखिएको उल्लेख गर्दे पूर्वाधार निर्माण र डिजाइनकै चरणमा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। सभापति थापाले विपद्को यस कठिन घडीमा नेपाली कांग्रेस पूर्ण रूपमा सरकार र पीडित नागरिकको साथमा रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सभापति थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताए । उनले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्त्वपूर्ण रहेको स्पष्ट पारेका छन् । सभापति थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।

उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए ।

सभापति थापाले देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको परामर्शका आधारमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने प्रष्ट पारेका छन् भने कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समिति मार्फत कार्यतालिका सार्वजनिक गरेको थियो ।

सभापति थापाले भोटेकोशी र त्रिशूली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरेका छन् । थापाले रसुवा, नुवाकोट र धादिङ जस्ता बाढी प्रभावित जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताएका छन् ।