काठमाडौं – आजदेखि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २० हजार ८०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ५२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड ६३ लाख २० हजार रूपैयाँबराबरको ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ५ गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २४ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
































































