काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।


ADVERTISEMENT


बाढी आएको १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ। फेला परेका शवमध्ये ९८ वटा शवको सनाखत गरी परिवारलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शवको पहिचान सहज बनाउन सबैको डीएनए नमुना संकलन गर्ने काम भइरहेको बताइएको छ।


ADVERTISEMENT

# # #


सम्पर्कविहीन नागरिकका आफन्तलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमुना दिन प्राधिकरणले आग्रह गरेको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा समेत खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। टोलीले त्रिशूली–३ ‘ए’ मा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरबाट एक्साभेटर ड्रप गरी ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म सुरुङभित्र प्रवेश गरेर खोजी गरिरहेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार माथिल्लो त्रिशूली–१ को एडिट–३ बाट आईआर तथा थर्मल ड्रोनमार्फत खोजी गर्दा हालसम्म कुनै जीवित संकेत फेला परेको छैन। टनेल हेडदेखि टेलसम्म खोजी कार्य भने जारी राखिएको छ।

नेपाल प्रहरीको श्रव्य–दृश्य विज्ञ टोलीले ड्रोनमार्फत नदी किनाराको निरीक्षण गरिरहेको छ भने पर्यटक प्रहरीले विदेशी नागरिकका आफन्तलाई आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।

यातायाततर्फ देवघाटको तादी खोलामा अस्थायी पुल जडानको काम जारी रहेको छ भने देवघाट–ढुंगे खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा लगभग सुचारु भइसकेको र विद्युत् सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको प्राधिकरणले जनाएको छ।