काठमाडौं- नेपाली कांग्रेसले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ ।
सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो क्रममा कांग्रेस महामन्त्री पौडेलले सभापति गगन थापाको नेतृत्वमा विज्ञहरूसँग परामर्श गर्ने, स्थलगत अध्ययन गर्ने र सरकारलाई दीर्घकालीन योजनाबारे सुझाव दिने तयारी समेत भइरहेको जानकारी दिए ।
प्रभावित क्षेत्रमा सहयोग पुराउन सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए । उनले सुरुङभित्र परेका व्यक्तिहरूको यथार्थ स्थिति तुरुन्त सार्वजनिक गर्न अर्थमन्त्रीमार्फत सरकारसँग माग गरे ।
बाढीपीडितका लागि तत्काल राहत, मध्यकालीन पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माण योजना बनाएर कार्यान्वयन गर्नुपर्ने महामन्त्री पौडेलले बताए । उनले विपद् व्यवस्थापनमा सरकार एक्लैको क्षमता पर्याप्त नहुने हुँदा तीनवटै तहका सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग लिने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
































































