काठमाडौं- नेपालमा आएको विनाशकारी बाढीको पीडा अब विश्वमञ्चमा पुग्ने भएको छ । भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन् । न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको अवस्थामा प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय मञ्चबाट नेपालको अवस्थाबारे धारणा राख्ने तयारी गरेका छन् । विशेषगरी भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षति, प्रभावित नागरिकको अवस्था तथा विपत्तिपछि उत्पन्न चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।
सम्बोधनका क्रममा जलवायु परिवर्तनले हिमाली मुलुक नेपालमा पारेको प्रत्यक्ष असर, बढ्दो प्राकृतिक जोखिम तथा विपद् व्यवस्थापनमा देखिएका चुनौतीलाई प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ । साथै, विपत्तिबाट प्रभावित नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको आवश्यकतामा समेत प्रधानमन्त्री शाहले जोड दिनेछन् ।
यसअघि महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्रीको नेतृत्वमा गर्ने तयारी गरिएको थियो । तर भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाह स्वयं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको हो ।
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गरी महासभामा सम्बोधनलगायतका कार्यक्रम पूरा गर्नेछन् । उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
































































