काठमाडौं- राष्ट्रमण्डलकी महासचिवले नेपाललाई राष्ट्रमण्डलमा आबद्ध हुने विषयमा विचार गर्न आग्रह गरेकी छन् । लन्डनस्थित मार्लबरो हाउसमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको वाणिज्य तथा उद्योग महासंघका अध्यक्ष चण्डीराज ढकालसहितको प्रतिनिधिमण्डलसँग विशेष भेट गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै महासचिवले नेपाली जनता तथा नेपाल सरकारप्रति हार्दिक समवेदना प्रकट गरेकी थिइन् ।
भेटका क्रममा उनले राष्ट्रमण्डलसँगको सहकार्यबाट नेपालले व्यापार, लगानी, आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण लाभ लिन सक्ने बताइन् ।
राष्ट्रमण्डलको विश्वव्यापी सञ्जालमार्फत नेपालले सदस्य राष्ट्रहरूसँग आर्थिक सम्बन्ध विस्तार गर्नुका साथै व्यापारिक अवसर र लगानीका नयाँ सम्भावना खोज्न सक्ने उनको भनाइ थियो ।
महासचिवले आगामी बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको वाणिज्य तथा उद्योग महासंघको प्रतिनिधिमण्डलसँग औपचारिक भेट गरी दुवै संस्थाबीच सहकार्यका सम्भावनाबारे छलफल गर्ने बताइन् ।
अध्यक्ष चण्डीराज ढकालले नेपालप्रति समवेदना व्यक्त गरेकोमा महासचिवलाई धन्यवाद दिँदै नेपाल तथा दक्षिण एसियाली क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार गर्न राष्ट्रमण्डलले देखाएको चासोको स्वागत गरे ।
भेटमा दक्षिण एसिया र राष्ट्रमण्डलका सदस्य राष्ट्रबीच व्यापार, लगानी, यातायात तथा पूर्वाधार सम्पर्क र निजी क्षेत्रबीचको साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको हो।
































































