नुवाकोट- भोटेकोशी बाढी तथा पहिरोका कारण आफैं ठूलो क्षति बेहोरेका नुवाकोटका यातायात व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ४८ हजार ८४३ रुपैयाँ सहयोग गरेका छन् ।
विपद्का कारण यातायात क्षेत्रमा ठूलो क्षति भए पनि व्यवसायीहरूले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरी राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
आफूहरू पनि विपद्को प्रत्यक्ष मारमा परेका अवस्थामा पीडित नागरिकका लागि सहयोग गर्नुपर्ने सामाजिक दायित्व सम्झेर रकम प्रदान गरिएको व्यवसायीहरूले बताएका छन् । उनीहरूले विपद्बाट प्रभावित नागरिकको साथमा उभिन सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको बताएका छन्।
































































