काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड रुपैयाँभन्दा बढी रकम जुटाएका छन् ।
नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले आफ्नो तलबबाट योगदानस्वरूप संकलन गरेको २ करोड २ लाख ६ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले आज आयोजित कार्यक्रममा उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।
विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहअनुसार रकम कटौती गरी सहयोग जुटाइएको नेपाल टेलिकमले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेय, कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संशाधन अधिकृत निर्झर भट्टराईलगायतको उपस्थिति थियो ।
नेपाल टेलिकमका अनुसार बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्का बेला कर्मचारीहरूले यसअघि पनि व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग गर्दै आएका छन् । सोही परम्परालाई निरन्तरता दिँदै यसपटक भोटेकोशी बाढीपीडितका लागि रकम संकलन गरिएको हो ।
कम्पनीले कर्मचारीको सहयोगसँगै संस्थागत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ ।
विपद्का बेला प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नुका साथै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्न नेपाल टेलिकम प्रतिबद्ध रहेको जनाएको छ।
































































