काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।
चीनको निमन्त्रणामा प्रधान सेनापति सिग्देल भदौ २५ गतेदेखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउनेछन्।
भ्रमणअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरेका थिए। भ्रमणले नेपाल–चीनबीचको आपसी सैनिक सम्बन्ध विस्तार तथा सैन्य कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

































































