काठमाडौं- हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। भदौ २९ गते परेको तीजका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
तीजमा पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले दर्शनलाई व्यवस्थित र सहज बनाउन विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। मन्दिरबाहिर पाँचवटा लाइन र मन्दिर परिसरभित्र प्रवेश गरेपछि थप आठवटा लाइन सञ्चालन गरिने भएको छ।
तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले उनीहरूको सुरक्षा र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।
यस्तै, पशुपति क्षेत्रमा सवारीसाधनको चापलाई व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ। विशिष्ट व्यक्तिका सवारीसाधन पार्किङका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा व्यवस्था मिलाइएको छ।
कोषले तीजका दिन पशुपति क्षेत्रमा आउने दर्शनार्थीलाई तोकिएको लाइन तथा प्रवेश व्यवस्थाको पालना गर्न र सुरक्षाकर्मी तथा स्वयंसेवकलाई सहयोग गर्न आग्रह गरेको छ। ठूलो भीड हुने भएकाले दर्शनार्थीलाई धैर्य र संयम अपनाउनसमेत आग्रह गरिएको छ।
































































