काठमाडौं- पूँजी बजार सुधारको कार्ययोजना सार्वजनिक भएपछि मंगलबार बढेको सेयर बजारमा बुधबार भने पुनः दबाब देखिएको छ । नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर २ हजार ६ सय १२ दशमलव ६४ अंकमा सीमित भएको हो ।
मंगलबारको वृद्धिले बजारमा देखिएको सकारात्मक माहोल बुधबार कायम रहन सकेन । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
बुधबार कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा उल्लेख्य घटेको छ । मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
बजारमा देखिएको गिरावट सबै समूहमा फैलिएको छ । बुधबार कुनै पनि समूहगत सूचक वृद्धि हुन सकेनन् । जलविद्युत् समूह सबैभन्दा धेरै १ दशमलव ०४ प्रतिशतले घटेको छ । जीवन बीमा समूह १ दशमलव ०१ प्रतिशत र निर्जीवन बीमा समूह शून्य दशमलव ९१ प्रतिशतले घटेका छन् ।
त्यस्तै, होटल तथा पर्यटन समूह शून्य दशमलव ८५, अन्य समूह शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ८२ र लगानी समूह शून्य दशमलव ८१ प्रतिशतले घटेका छन् । बैंकिङ समूह शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२ र व्यापार समूह शून्य दशमलव ७० प्रतिशतले घटेका छन् ।
कम्पनीगत कारोबारतर्फ पनि घट्ने कम्पनीको संख्या उच्च रह्यो । ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
सरकारले पूँजी बजार सुधारका लागि कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार बजारमा सकारात्मक प्रतिक्रिया देखिए पनि त्यसको निरन्तरता बुधबार देखिएन । कारोबार रकममा आएको कमी र अधिकांश कम्पनीको मूल्यमा देखिएको गिरावटले बजारमा पुनः दबाबको अवस्था देखाएको छ।































































