काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


ADVERTISEMENT


बैंक सञ्चालक समितिको ५२१औँ बैठकले चुक्तापुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वितरणयोग्य मुनाफाबाट प्रस्ताव गरिएको कुल लाभांश रकम ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ रहेको छ। बोनस शेयरतर्फ ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ तथा कर प्रयोजनका लागि नगद लाभांशतर्फ ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ प्रस्ताव गरिएको छ।

सिटिजन्स बैंकले २०६४ साल वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ। बैंकले आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।

बैंकका अनुसार पछिल्लो २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। प्रस्तावित लाभांशलाई समेत समावेश गर्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहने बैंकले जनाएको छ।

यसैबीच, बैंकले पछिल्लो समय डिजिटल तथा आधुनिक बैंकिङ सेवामा समेत विस्तार गरिरहेको जनाएको छ। बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंकिङ सेवा’ सञ्चालनमा ल्याएको छ भने प्रिमियम ग्राहकलाई लक्षित गर्दै ‘प्रिमियम सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको छ।

त्यस्तै, बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको जनाएको छ। क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।