हेटौंडा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशसहित ६ वटै प्रदेशमा सम्पन्न वडा तहको अधिवेशन सौहार्दपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सबैप्रति आभार व्यक्त गरेका छन्।


ADVERTISEMENT


२०८३ असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनले कांग्रेसको महाधिवेशन प्रक्रिया थप अघि बढाएको उल्लेख गर्दै बानियाँले अधिवेशन सफल बनाउन भूमिका खेल्ने मतदान अधिकृत, सुरक्षाकर्मी, पत्रकार, वडा कार्यसमिति तथा सम्पूर्ण क्रियाशील सदस्यहरूलाई धन्यवाद दिएका हुन्।


ADVERTISEMENT

# # #


बानियाँले वडा तहको अधिवेशनमा देखिएको एकता, सद्भाव र सहकार्यलाई आगामी अधिवेशनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन्। उनले आगामी गाउँपालिका/नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म पनि यही एकता र सहकार्य कायम राख्दै अधिवेशनलाई सफल बनाउन कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आग्रह गरेका छन्।

‘अधिवेशनलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण मतदान अधिकृत, सुरक्षाकर्मी, पत्रकार साथी, वडा कार्यसमिति तथा क्रियाशील सदस्य साथीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ बानियाँले भनेका छन्।

उनले वडा तहबाट सुरु भएको पार्टीको अधिवेशन प्रक्रियालाई आगामी चरणमा पनि उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा अघि बढाउन सबै नेता–कार्यकर्ताबीच आपसी समझदारी, सद्भाव र सहकार्य आवश्यक रहेको बताएका छन्।