बागलुङ– लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसकेका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्दैनन् तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ ।


ADVERTISEMENT


नौ वर्षमै घरबार त्यागेर फिरन्ते जीवन रोजेका क्षेत्री हेर्दा सामान्य लागे पनि उनी सामाजिक व्यक्तित्वका धनी छन् ।


ADVERTISEMENT

# # #


काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका क्षेत्री हाल जैमिनी नगरपालिका–७ जैदीमा बस्छन् । जैदीमा आफ्नै कमाइले बनाएको सानो घर छ, त्यहाँ पनि उनी बस्दैनन् । उनकै बोलीमा धन र जायजेथा जोड्नु ‘गलत कर्म’ हो । क्षेत्री सामाजिक काम गर्छन्, गाउँलेको पिरमर्कामा सघाउँछन्, गाउँलेकैमा खाने र सुत्ने गर्छन् । स्थानीय संस्कृत मावि बेलबगरमा अझै कार्यालय सहयोगी रहेका उनी दिनभर विद्यालयको सेवा गर्दै आएका छन् ।

क्षेत्रीले विद्यालयमा काम गर्न थालेको ४१ वर्ष पुगिसकेको छ । अचम्म लाग्दो त के छ भने उनले विद्यालयबाट आउने तलब एक रुपैयाँ पनि आफूले राखेका छैनन् । “मेरो कमाइजति सबै विद्यालय र संघसंस्थालाई दिएँ”, क्षेत्री भन्छन्, “मेरो साथमा एक रुपैयाँ छैन ।” साथमा धन आउनेबित्तिकै अरुलाई दिइहाल्ने उनी बताउँछन्, “धनसम्पत्तिको लोभ गर्दिनँ साथमा भयो कि दिउँदिउँ लाग्छ । ”

कार्यालय सहयोगीका रुपमा आफैँले काम गर्ने संस्कृत माविको पहिलो संस्थापक चन्दादाता क्षेत्री नै छन् । उनले श्रमदानबाहेक विद्यालयलाई रु एक लाख नगद चन्दा दिएका छन् । संस्कृत माविसँगै अर्जेवाको जनशिक्षित माविलाई रु ७५ हजार, छिस्तीको वसन्त माविलाई रु २५ हजार, जैदीकै शारदा प्राविलाई रु १५ हजारलगायत गरी गाउँका दर्जनभन्दा बढी विद्यालयलाई क्षेत्रीले चन्दा सहयोग गर्दै आएका छन् ।

जैदी बोरको जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबलाई हालसम्म रु ७५ हजार सहयोग दिनुभएका उनी भन्छन् “सबै कुरा मलाई सम्झना छैन, मेरो कमाइजति सबै समाजलाई दिएको छु ।” चन्दा सहयोगको कुनै हिसाब नभए पनि उनले हालसम्म रु १४ लाखभन्दा बढी सहयोग गरेको क्षेत्री बताउँछन् ।

विसं २०३४ मा विद्यालयमा जागिर शुरु गर्दा क्षेत्रीको तलबमात्र रु १५० थियो । पछि उनको तलब बढेर रु १६ हजारसम्म पुग्यो । बढेको तलबमा पनि क्षेत्रीलाई कुनै लोभ जागेन बरु सामाजिक कामकै लागि खर्चिए । उमेर हदका कारण तीन वर्षअघि विद्यालयको कार्यालय सहयोगी पदबाट अवकाश पाए पनि उनी अहिले पनि विद्यालयको सेवामा छन् । नियमले जागिरबाट निस्कनु परे पनि सक्ने बेलासम्म विद्यालयको सेवा गर्ने सोचमा क्षेत्री छन् ।

“अठ्ठाइस वर्षको उमेरमा विद्यालयमा छिरेँ अहिले ६८ वर्ष भयो सेवामै छु”, क्षेत्री भन्छन्, “यही विद्यालय र यही गाउँको माया बढी छ ।” क्षेत्रीले जैदी, छिस्ती छिमेकी पर्वत जिल्लाका कर्नास, बाच्छालगायतका गाउँ डुल्दै, काम गर्दै जीवन गुजारी रहेका छन् । दिनभर विद्यालयको काम र बिहान बेलुका गाउँलेको काम धन्दा सम्हाल्नु उनको दैनिकी हो । “बिहान ४ बजे उठ्छु, गाउँलेकोमा जे काम पर्छ म गर्छु, त्यही खान्छु हिँड्छु”, उनी भन्छन्, “मेरो घर भनेकै सिङ्गो गाउँ हो, समाज हो ।”

जैदीकै बेलबगरमा आफैँले बनाएको घरमा पनि क्षेत्री बस्न रुचाउँदैनन् । न त घरमा खाना नै बनाउँछन् । गाउँलेकै काम धन्दा गर्ने र उतै खाने, बस्ने गरेर क्षेत्रीले जीविका चलाएका छन् । उनी खेतबारीको कामदेखि घाँसदाउरा सबै गर्न सक्छन् । गाउँमा कोही बिरामी परे बोक्नेमा क्षेत्री नै अघि सर्छन् । “अहिलेसम्म एक हजारभन्दा बढी बिरामी बोके हुँला”, उनी भन्छन्, “अरुको सेवा गर्दा आनन्द मिल्छ, जीवनको सार यही हो ।” अहिलेसम्म जटिल बिरामी नपर्नुभएका क्षेत्रीले आफूलाई गाह्रोसाह्रो पर्दा समाज र भगवान्ले हेर्ने तर्क गर्छन् ।

एक्ला छोरा रहनुभएका क्षेत्रीले वर्षौंपछि जन्मथलो पुगेर आफ्ना स्व बुबाआमाको किरिया गरेका थिए । धम्जामा उनका आफन्त र इष्टमित्र छन् । विवाह गरेकी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि क्षेत्री एक्लै बस्दै आएक हुन् । विद्यालयबाट अवकाश पाए पनि निवृत्तिभरणको रकम भने क्षेत्रीले पाउन सकेका छैनन् । निवृत्तिभरण र सञ्चयकोषको रकम आए सामाजिक काममै खर्चने उनको योजना छ । आफूले काम गर्ने संस्कृति मावि क्याम्पस भयो भने रु पाँच लाख चन्दा दिने सोच बनाएको क्षेत्री बताउँछन् । रामबहादुर थापा रासस