काठमाडौं – साताको कारोबारको मध्यदिन बुधबार सेयर बजारमा व्यापक गिरावट आएको छ । कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घट्दा नेप्से परिसूचक ३६ दशमलव २५ अंकले ओरालो लागेर २ हजार ६ सय १८ अंकमा झरेको छ ।


ADVERTISEMENT


बजारमा कारोबार रकमसमेत घटेको छ । मंगलबार ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ । बजारका सबै समूहगत सूचक घटेका छन् ।


ADVERTISEMENT

# # #


जीवन बीमा समूह २ दशमलव ४ प्रतिशतले घट्दै सबैभन्दा बढी दबाबमा परेको छ । यस्तै जलविद्युत् १ दशमलव ६६, अन्य १ दशमलव ६५, लगानी १ दशमलव ४९, निर्जीवन बीमा १ दशमलव ३२, माइक्रोफाइनान्स १ दशमलव ३१ र विकास बैंक १ दशमलव ३६ प्रतिशतले घटेका छन् ।

बुधबार २ सय ५३ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो । धौलागिरि लघुवित्तको सेयर मूल्य भने १५ प्रतिशतले बढेको छ । सीवाईसी लघुवित्त, विकास हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु र मिडसोलु हाइड्रोपावरको मूल्यसमेत बढेको छ ।

यता फर्स्ट माइक्रोफाइनान्सको मूल्य ८ दशमलव ५४ प्रतिशतले घट्दा माउन्ट एभरेस्ट पावर, इङवा हाइड्रोपावर र पियोर इनर्जीको सेयर मूल्यमा पनि गिरावट आएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहे ।