विराटनगर- नेपाली साहित्य र समालोचनाको क्षेत्रमा विगत ५ दशकभन्दा लामो समयदेखि क्रियाशिल वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई शनिबार विराटनगरमा भव्य समारोहका बीच अभिनन्दन गरिएको छ ।


ADVERTISEMENT


चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय २ सयभन्दा बढी संस्थाहरूले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् ।


ADVERTISEMENT

# # #


वि.सं.२००४ सालमा भोजपुरमा जन्मिएका सुवेदी दुईपटक नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भएका थिए । विशेष गरी समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुवेदीका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् ।

दोसल्ला, माला र टीका लगाइदिएर सुवेदीकै उचाइ बराबरको ताम्रपत्र भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशसभा सदस्य जयराम यादव, विन्द्या कार्कीलगायतले हस्तान्तरण गरेका थिए ।

उनको सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको बरगाछी पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । सुवेदीका शरद, रुपक दुई छोरा र रानु पोखरेल एक छोरी छन् । समारोहमा सुवेदीकी श्रीमती मीनालाई पनि अभिनन्दन गरिएको थियो ।

‘नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा योगदान विशिष्ट योगदान पुर्याएकाले उहाँलाई नागरिक अभिनन्दन गरेका हौं’ कार्यक्रमकी संयोजक गंगा सुवेदीले भनिन्, ‘राष्ट्रले गर्नुपर्ने काम हामीले गरिरहेका छौं । सर्जक भनेको राष्ट्रको अमूल्य सम्पत्ति हो ।’

साहित्यका साथै शिक्षा, धार्मिक, सामाजिक क्षेत्रमा समेत सुवेदीको महत्वपूर्ण योगदान रहेको पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले बताए ।