काठमाडौं–फुटबल दुनियाँमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीलाई हरेक पटक एक अर्कासँग तुलना हुनेगर्छ । यी दुई खेलाडीमा अधिकांश फुटबलप्रेमीको नजर अडिएको हुन्छ। आगामी बिहिबार(भोली)बाट फुटबलको कुम्भमेला फिफा विश्वकप २०१८ रसियामा सुरू हुँदैछ । यसमा सबैको ध्यान रोनाल्डो र मेसीमाथि हुनेछ ।


ADVERTISEMENT


यसैबीच यी दुई हस्तीले यसअघिको संस्करणमा खेलेका खेलमा गरेको प्रदर्शनको तुलना गरिएको छ। सन् २००६ र सन् २०१४ मा खेलेका दुई संस्करणलाई हेर्ने हो भने अर्जेन्टिनी कप्तान मेसी पोर्चुगिच कप्तान रोनाल्डोमाथि हाबी देखिएका छन् ।


ADVERTISEMENT

# # #


मेसीले सन् २००६ र २०१४ को विश्वकपमा खेलेका १५ खेलबाट ५ गोल गरेका छन् भने ३ वटा पास दिएका गोलले जाली चुमेका छन् । यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको प्रदर्शन हेर्दा सन् २००६ र सन् २०१४ मा खेलेको १३ खेलबाट ३ गोल गरेका छन् भने २ वटा पास दिएको गोलले जाली चुमेको छ ।

अर्जेन्टिनाका स्टार मेसीका लागि सम्भवतः अन्तिम विश्वकप हुनसक्छ । त्यसैले उनी यसलाई खास अविस्मरणीय बनाउन चाहन्छन् । पछिल्लो समय फर्ममा रहेका मेसीले यो सिजन क्लब फुटबलमा ४७ गोल गरेका छन् । जसमा ३४ गोल ला–लिगामा मात्र गरेका छन् ।

ब्राजिलमा भएको पछिल्लो विश्वकपमा पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलसम्म पुर्‍याएका थिए। उनले ७ खेलबाट ४ गोल गरेका थिए । अहिलेसम्म विश्वकपको उपाधि नजितेको पोर्चुगलका कप्तान रोनाल्डोले यो संस्करणमा ट्रफी भित्र्याउने महत्वकांक्षी योजनासाथ रसिया पुगेका छन् ।

रोनाल्डो पनि सिजनको सुरुवातमा केही धरमराए पनि पछिल्लो समय फर्ममा आएका छन् ।

दुवै खेलाडी आजको समयका उत्कृष्ट फुटबलर हुन् । रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा सबैको चासो मेसी र रोनाल्डोको प्रदर्शनमा केन्द्रित हुनेछ । समकालीन फुटबलमा उत्कृष्ट भए पनि दुवैले विश्वकपको ट्रफी उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन् । धेरैको अनुमान छ, दुवैका लागि रसिया विश्वकप एउटा राम्रो अवसर हुन सक्नेछ ।

मेसीबिना पनि अर्जेन्टिनाको टिम उत्कृष्ट रहेको तर, उनी टिममा हुनु अर्जेन्टिनाका लागि थप बलियो पक्ष हो, सर्जियो अग्युरो, हिग्युइन, डि मारिया, पाब्लो डिबाला जस्ता प्रतिभाशाली खेलाडी अग्रपंक्तिमा हुँदा मेसीको भूमिका अझ फराकिलो बन्नसक्छ । उत्कृष्ट खेलाडीको तालमेल मिलाउन सही रणनीति बनाउनु नै अर्जेन्टिनाको मुख्य चुनौती हो ।

तालमेल मिलाउन सही रणनीति बनाउन सके अर्जेन्टिनाका लागि यो विश्वकपको ट्रफी उचाल्ने अवसर पनि हुने छ त्यसमा मेसीको जादु चल्नुपर्ने हुन्छ । किनभने अरू जता जे गरे पनि मेसीले आफ्नो देसको लागि ठूलो पदक दिलाउन सफल भएका छैनन् ।

उता रोनाल्डोले भने देसको लागि युरो कप जिताएर फर्ममा छन् । तर रोनाल्डोकै भरमा यूरो २०१६ को फाइनलसम्म पुगेर आफूभन्दा धेरै बलियो फ्रान्सलाई हराई उपाधि जितेको पोर्चुगललाई त्यस्तै सफलता पाउन धेरै गाह्रो पर्नेछ ।