काठमाडौं – विश्व फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुने भएको छ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।


ADVERTISEMENT


सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्।
विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। तीमध्ये युरोपेली फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी ५ सय ४४ जना छन्। यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो।


ADVERTISEMENT

# # #


बेलायती फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने १ सय ३२ जना खेलाडी आ–आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदैछन्। विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन्। ती देशमध्ये सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ।

आगामी विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ। प्रतियोगितामा सहभागी हुन ३२ वटै टोलीका खेलाडी र खेल पदाधिकारी रसिया पुगिसकेका छन्।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका पाहुना र पूर्वखेलाडी पनि रसिया पुग्ने क्रम जारी छ। प्रतियोगिताको उद्घाटन खेल आज आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुँदैछ ।

नेपालमा यसरी हेनुस्

मिडिया कारोबार एजेन्सी मिडिया हबको साझेदारीमा चार ओटा नेपाली च्यानलमा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुने भएको छ । मिडिया हबले यो सुबिधा “राम्रो नै हेरौ, हाम्रो मै हेरौ” भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ ।

मिडिया हबका अनुसार नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन स्पोर्टस् र एनटीभी प्लसमा विश्वकपका खेल प्रत्यक्ष प्रसारण हुनेछन् । नेपालको सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब फिफा विश्वकप २०१८ को नेपालका लागि एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो ।

नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले सधैं फिफा विश्वकपलाई नेपाली च्यानलमा ल्याउन योगदान दिँदै आएको छ । यो वर्षको विशेषता भने कान्तिपुर एचडी र डिसहोम एक्सन स्पोर्टस्मा एचडी क्वालिटिको प्रसारण हुने मिडिया हबको दावी छ । यस्तै एनटीभी र एनटिभी प्लसमा पनि विश्वकप प्रत्यक्ष हेर्न सकिनेछ ।