काठमाडौँ– नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ ।


ADVERTISEMENT


हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एयर नेभिगेशन प्रमुख नरेन्द्रबहादुर थापा र भारतीय पक्षको नेतृत्व एयर नेभिगेशन प्रमुख एके दत्ताले गरेका छन् ।


ADVERTISEMENT

# # #


आज प्रारम्भिक रुपमा छलफल शुरु भएको जानकारी दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का उपकार्यकारी निर्देशक राजन पोखरेलले शुक्रबार महत्वपूर्ण निर्णय हुनसक्ने जानकारी दिए । नेपाल प्रवेश गर्ने एउटा मात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायुसेवा प्रदायक कम्पनीले थप व्ययभारसमेत व्यहोर्नु परिरहेको छ । सिमराको आकाशबाट मात्रै अन्तर्राष्ट्रिय वायुसेवाका जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरेका छन् ।

सरकारले लामो समयदेखि भारत सरकारसँग ‘ट्रान्स हिमालय टु’ र अन्य चार स्थानबाट नेपाल प्रवेश गर्ने र बाहिरिने मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो । ती विषयमा भारतीय अधिकारीसँग छलफल शुरु भएको उपमहानिर्देशक पोखरेलले जानकारी दिए ।

गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाको भारत भ्रमण र गत वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणका क्रममा थप हवाईमार्ग उपलब्ध गराउने विषयमा भएको सहमतिका आधारमा आगामी छ महिनाभित्र थप हवाईमार्गका बारेमा सहमति जुटाउने लक्ष्य राखिएको छ ।

भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भइरहेको र आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो विमानस्थल सञ्चालनका लागि थप हवाईमार्गमा सहमति हुनु जरुरी छ । भारतले हवाईमार्ग नदिँदा सो विमानस्थलमा जहाज उडान तथा अवतरणका लागि समेत समस्या पर्ने देखिन्छ । यस्तै बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलमा समेत जहाज उडान तथा अवतरणका लागि भारतको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारको पटक पटकको आग्रहपछि भारतीय पक्ष थप हवाईमार्ग उपलब्ध गराउने विषयमा सहमत भएको छ । राजनीतिक एवं कूटनीतिक तहमा भएको सहमतिअनुसार द्विपक्षीय वार्ता शुरु भएको हो । हाल भारत हुँदै आएका विमान एउटा विन्दुबाट मात्र नेपाल प्रवेश गर्छन् । भारत, हङ्कङ, थाइल्याण्ड, बङ्गलादेश, मलेसिया, सिंगापुरलगायतबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन् । नेपालबाट बाहिरिनका लागि भैरहवा, भीमदत्तनगर, सिमरा, जनकपुर र विराटनगरको आकाश प्रयोग गर्नुपर्छ ।

चीनबाट नेपाल भित्रिने जहाज भने सगरमाथा केन्द्र हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । थप हवाईमार्गका बारेमा सहमति हुने जनाउँदै नेपालको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले नेपालगञ्ज–दिल्ली उडान गर्ने तयारी गरेको छ । सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलबाट भारतीय शहरमा उडान गर्ने लक्ष्यसमेत राखेको छ । सो लक्ष्य कार्यान्वयनका लागि थप हवाईमार्गको जरुरी छ ।

भारतका प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा भएको छलफलपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा हवाईमार्गको विषय समेटिएको छ । सहमतिमा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले आआफ्ना देशका प्राविधिक टोलीसँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएका थिए ।