काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरुले प्रदेश नं ३ को नाम नेपाल मण्डल राख्नुपर्ने माग गरेका थिए ।


ADVERTISEMENT

# # #


संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उत्पीडित तथा जनजातिको माग संविधानमा अझै समेटिन नसकेको बताँउदै दुई तिहाइ कम्युनिष्टहरुको उपस्थिति रहेको संघीय सरकारले चाहेमा ३ नं प्रदेशको नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताएका छन् ।

नेपाली काँग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न दलमा रहेका नेवार समदायहरु एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य दिलीप महर्जनले नेपालमा प्रजातन्त्र स्थापना गर्ने हरेक आन्दोलनमा काठमाडौंका नेवारहरुको निर्णायक भूमिका रहेको बताए । उनले ३ नं प्रदेशमा नामकरण गर्दा नेवार समुदायको पहिचान झल्काउनुपर्ने विचार व्यक्त गरेका छन् ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेवार समुदायले गरेको आन्दोलनका प्रतिफल अझै प्राप्त नभएको बताउँर्दै ३ नं प्रदेशको नामकरण नेवारी जनताको भावनाअनुरुप हुनुपर्ने तथा काठमाडौँ उपत्यकामा नेवार समदायका अद्वितीय कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकारको ध्यान जानुपर्ने औँल्याएका छन् ।

नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकार तथा नेवा अनलाइन न्यूजका अध्यक्ष सुजीव बज्राचार्यले नेवारी कला, संस्कृतिको महत्व र यसको संरक्षणका विषयमा बोलेका थिए । रासस