बिराटनगर– नेपाली काँग्रेसभित्र दुई दशकदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहेर राजनीति गर्दै आएका काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै लिम्बुले देउवा नेतृत्वले काँग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि सधै देउवाको पक्षमा बोल्दै आएका लिम्बुले सभापतिहरुको भेलामा देउवाप्रति नै असन्तुष्टि जनाएपछि पुर्वका काङग्रेसीहरुले देउवा क्याम्प छोड्ने स्थानीय नेताहरुले बताएका छन् ।

सरकारले जनताको ढाड सेक्नेगरी पटक–पटक पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गर्दासमेत चुप बस्नुले काँग्रेसको प्रतिपक्षी भूमिका कमजोर देखिएको उनले बताए ।

‘सरकारले गरेका गलत काममा खोई हाम्रो खबरदारी ?’ प्रश्न गर्दै लिम्बुले भने ‘प्रतिपक्षको भूमिका कमजोर भएको स्वीकार गर्नैपर्छ ।’ फरक प्रसंगमा उनले निर्धारित समयमै महाधिबेशन गर्न पार्टी नेतृत्वसँग जोडदार माग पनि गरे ।

अव महाधिवेशन गर्न बिलम्व गर्न नहुने भन्दै उनले भने ‘चाँडै प्रक्रिया सुरु गर्यो भने मात्र निर्धारित समयमा महाधिबेशन हुने भएकाले वडा तहदेखि जिल्ला तहसम्मका कार्यक्रम चाडै घोषणा गरियोस् ।’

यसअघि बिराटनगरमा भएको प्रदेश नं १ का सभापतिहरुको भेलाले पारित गरेका प्रस्ताव कार्यान्वयन गर्न पनि उनले माग गरे । स्थानीय, प्रदेश र संघको चुनावमा काँग्रेसले लज्जास्पद हार बेहोरेको प्रसंग निकाल्दै लिम्बुले त्यसको जिम्मा पार्टी सभापतिको हैसियतले देउवा, पदाधिकारी र संसदीय बोर्डका पदाधिकारीले लिनुपर्ने बताए ।

सभापति देउवासहित नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्न नसक्दा काँग्रेसले पराजय भोग्नु परेको उनको ठम्याई छ ।

संगठन चलायमान बनाउँनुपर्ने आवश्यकता औल्याउँदै लिम्बुले धेरै वडा र गाउँ गाभिएर एउटै बनेकोले, स्थानीय तहदेखि समायोजन गरेर संगठनलाई सक्रिय बनाउँन पार्टी नेतृत्वलाई सुझाव पनि दिए ।

जनजाति क्षेत्रका अगुवा एवं पूर्वमा काँग्रेसको अग्रणी भूमिकामा रहेका लिम्बु कोईराला क्याम्पमा देखिएपछि देउवा पक्षलाई पूर्वी क्षेत्रमा ठुलो धक्का लाग्ने काँग्रेसीहरुको भनाई छ ।