”रेल ल्याउने कुरा नेपालको मात्रै होईन, चीन र भारतको पनि सपना हो”


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्रीको यस भ्रमणको प्रमुख सन्देश के हो ? यसअघि चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण हुने भन्ने चर्चा चलेको थियो । तर हुन सकेन । के ओलीको यो भ्रमणले सीको नेपाल भ्रमणलाई मार्ग प्रशस्त गर्ला ? नेपालको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको यो भ्रमण कत्तिको महत्वपूर्ण छ ? यस अघि भएका सम्झौताहरुको कार्यान्वयनका लागि यो भ्रमण कत्तिको प्रभावकारी होला ? लगायतका विविध विषयमा हिमालय पोष्टले राजनीतिक अर्थशास्त्री कल्याण रोकासंग कुराकानी गरेको छ । प्रस्ततु छ सोही कुराकानीको सम्पादित अंश ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । यो भ्रमणलाई यहाँले कसरी नियाली रहनु भएको छ ?

प्रधानमन्त्री ओली र सरकारी टोलीले चिनियाँ पक्षसंग वार्ता गरेको छ । १४ वटा विषयमा महत्वपूर्ण सन्धि सम्झौताहरु भएका छन् । प्रधानमन्त्रीको उपस्थितिमा निजी क्षेत्रका केही परियोजनाहरुमा पनि पनि सहमति भएका छन् । यी सहमतीको हिसाबमा यो भ्रमण अत्यन्तै सफल र फलदायी भएको मैले लिएको छु । किनभने सन् १९५५ मा हामीले चीनसंग कुटनीतिक सम्बन्ध कायम गरेका हौँ । त्यस पनि १९५६ मा दुबैतर्फबाट राजदूतावास स्थापना भयो । त्यो भन्दा अघि देखि नै हाम्रो ऐतिहासिक इतिहास छ । जुन अरनिकोदेखि भृकुटीसम्मको सम्बन्धलाई पनि हामीले हेर्न सक्छौँ । विभिन्न समयदेखि दुई पक्षबीच सहकार्य हुँदै आएको छ ।

नेपालको विकास निर्माणमा चीनले पनि सहयोग गर्दै आएको छ । तर पनि नेपाल र चीन सम्बन्धमा महत्वपूर्ण सम्बन्ध स्थापना गर्ने खालका कुनै सन्धि सम्झौता भएका थिएनन् । सन् २०१६ मा केपी ओलीले प्रधानमन्त्रीको हैसियतमा चीनसंग जुन १० बुँदे समझदारी गर्नुभयो र अहिले २०१८ मा पनि समझदारी जुटेका छन् यस्ले गर्दा नेपाल चीन सम्बन्धमा अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक भ्रमण रहेको मैले बुझेको छु ।

अहिले जुन किसिमका सम्झौता, भ्रमण र भेटघाटहरु भएका छन् । ती नेपालका लागि कत्तिको महत्वपूर्ण छन् र चीनका लागि पनि यसले के महत्व राख्छ ?

भ्रमण, सन्धि सम्झौता आफैमा महत्वपूर्ण हुँदैनन् । त्यसको कार्यान्वयन महत्वपूर्ण हो । हाम्रो देशको जनजीविकाको सवालमा, हाम्रो देशलाई समृद्धिको बाटोमा लैजाने सवालमा, नेपाल चीन सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने बारेमा यसले के नतिजा दिन्छ भन्ने महत्वपूर्ण कुरा हो । पहिले २०१६ मा गरेको १० बुँदा र अहिले गरेको १४ बुँदाहरु नेपाल चीन सम्बन्ध र नेपालको कुटनीतिको बारेमा पनि महत्वपूर्ण कुरा हो । हामीले यसको विषय वस्तु र प्रभावमा जानु पर्छ । २०१६ मा भएका सम्झौताहरुको कार्यान्वयन गर्ने भनेर अहिले समझदारी भएको छ ।

२०१६ मा भएको भ्रमणलाई हामीले अहिले २०१८ मा ल्याएर विश्लेषण गरौँ, त्यसको महत्वपूर्ण कुरा के हो भने समुद्रसंगको पहुँच चीनतिर पनि नेपालले पाउनुपर्छ भन्ने थियो । भूपरिवेष्ठित देशको लागि त्यो अधिकारको कुरा पनि हो । तर दक्षिणपट्टि मात्रै आफ्नो पहुँच खोजेका थियौँ । चीनसंग हाम्रो ध्यान नै गएको थिएन ।

नाकाबन्दीको चपेटाले गर्दा हामीलाई चीनतर्फ नजिक पारेको हो । त्यसपछि केपी ओलीको भ्रमणताका समुद्रसंगको पहुँचको सम्झौता चीनसंग भएको हो, जुन नेपालको लागि एकदमै महत्वपूर्ण कुरा हो । यसको अर्को फाइदा भनेको बजारमा भारतीय एकाधिकारलाई तोड्दै मूल्य घटाउने पनि हो । यसले चीनसंगमात्रै नजोडि पूर्वी एशियाका देशहरुसंग पनि नेपाललाई जोड्नुका साथै प्रतिस्पर्धात्मक बजार कायम गर्छ । यस्तै चीनको अहिले ‘वेल्ट एण्ड रोड’को अवधारणा आएको छ । भ्रमणका यीनै महत्वपूर्ण सम्झौताहरु कार्यान्वयनका लागि अघि बढे भने दुबै देशका लागि फाईदा पुग्छ ।

अर्को महत्वपूर्ण कुरा जुन अहिले निकै चर्चामा छ, चिनियाँ रेल नेपालमा ल्याउने भन्ने । रेलको सपनालाई साकार पार्नका लागि यो भ्रमण कत्तिको सफल बनेको छ ?

यो अर्को महत्वपूर्ण एजेण्डा हो । संसारका धेरै देशसंग रेल सेवा छ । हामीसंग जोडिएका छिमेकी चीन र भारतसंग पनि उहिल्यैदेखि रेल थिए । रेल सेवा आयो भने बजारलाई सस्तो बनाउनुका साथै प्रतिस्पर्धात्मक समेत बनाउँछ । २०१६ मा केपी ओलीले नेपालका लागि रेलको सपना देखाउनु भयो । कतिपयले यसको खुलेरै आलोचना पनि गरे ।

तर अहिले हामीले के सुनेका छौँ भने केही समय अघि मात्रै भारतीय प्रधाननमन्त्रीको नेपाल भ्रमण भयो । यस्तै नेपालका प्रधानमन्त्रीको पनि भारत भ्रमण भयो । त्यसमा पनि रक्सौल काठमाडौँ रेलको अध्ययन भइरहेको कुरा छ ।

यता केरुङबाट पनि काठमाडौँ, पोखरा हुँदै लम्बिनीसम्म जाने भन्ने कुरा छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उहाँका समकक्षीसंग पनि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । यसको डीपीआर तयार गर्ने काम सुरु गर्ने भनिएको छ । यसले गर्दा पनि रेलको सपनालाई अझ मूर्त रुप दिन सरकार लागेको देखिन्छ ।

यो कनेक्टिभिटी नेपालको मात्रै चासोको विषय होइन । भारत र चीन दुबैको आवश्यकता हो । दुबैतर्फ कनेक्टीभिटी भयो भने उनीहरुलाई पनि फाइदा हुन्छ । किनकी एशियाका दुई शक्तिशालीको बीचमा हामी छौँ । ठूला बजार भएका यी देशहरु आफ्नो उत्पादन हाम्रो माध्यम हुँदै एक आपसमा पूर्याउन चाहन्छन् । त्यस कारण नेपालमा रेल ल्याउने भन्ने हाम्रो मात्रै होइन, उनीहरुको पनि सपना हो । यसका लागि यो भ्रमण कोशेढुंगा बन्ने मैले विश्वास लिएको छु ।

समृद्धि हासिल गर्नका लागि विदेशी लगानी आवश्यक हुन्छ । औद्योगिक विकासका लागि चीनसंग कसरी सहकार्य हुनसक्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानी केका लागि र कुन क्षेत्रका लागि भन्ने हो । यस अघि पनि लगानी आएकै हो । तर त्यो उचित क्षेत्रमा सदुपयोग गरिएन । लोकतन्त्र स्थापनापछि आएको लगानी राजनीतिलाई अस्थिर बनाउन तिर नलगाई उत्पादक क्षेत्रमा लगाएको भए मूलुक उहिल्यै समृद्धिको बाटोमा गइसक्थ्यो ।

अहिले हामीसंग स्थिर सरकार छ । हामी लगानीको वातावरण बनाउन खोज्दैछौँ । अब आउने लगानीलाई पनि उत्पादनको क्षेत्रमा लगाउन सकिएन भने अर्थ हुँदैन । हामीसंग बिजुलीमा ८३ हजार मेघावाट क्षमता छ । तर भारतबाट किनेर लोडसेडिङ अन्त्य गरिरहेका छौँ । त्यस कारण पहिले उत्पादनमा ध्यान दिनुपर्छ ।

अहिले चीनसंग विभिन्न किसिमका लगानी सम्झौताहरु भएका छन् । यस्लाई उपयुक्त ठाउँमा सदुपयोग गर्नुपर्छ ता कि भोलिका दिनमा समृद्ध नेपालको सपनालाई यसले सहयोग गरोस् । उत्पादनसंग लगानीलाई जोडेमा हाम्रो नजिक भारत र चीन जस्ता ठूला बजार छन् । ती बजारमा आफ्ना उत्पादन केही प्रतिशत मात्रै पठाउन सकियो भने पनि यसले धेरै सहयोग गर्छ ।

पटक पटकका भ्रमणहरुमा हुने गरेका सहमति, सम्झौताहरु कार्यान्वयन भईरहेका छैनन् भन्ने आलोचना छ । कार्यान्वयनका लागि अब चाहीँ कसरी अघि बढ्नुपर्छ ?

सहमति गर्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने के अर्थ भयो र ? कार्यान्वयन गर्नका लागि धेरै चुनौतिहरु पनि छन् । हामीसंग परम्परागत सोचाई भएको कर्मचारीतन्त्र छ, नीतिगत तहमा खुरापात गरेर एकपक्षीय ढंगका नीति र काम अघि बढ्ने गरेका छन् । उदाहरणका लागि हामीसंग भएको आयल निगमले भारतीय आयल निगमसंग तेल खरिद गर्छ । नेपालले भारतसंग मात्रै तेल खरिद गर्ने तर अन्य देशमा सस्तोमा भेटिए त्यो नल्याउने खालको सिन्टिकेट प्रणाली यथावतै छ नि !

मैँले भन्न खोजेको के हो भने हामी एकै पक्षसंग निर्भर हुनुहुँदैन । त्यसका लागि परम्परागत सोचाई भएको कर्मचारीतन्त्रलाई सुधार्नुपर्छ । अन्य विविध समस्यालाई सुधार गरेर विगतमा भएको सहमती र सम्झौताहरुलाई कार्यान्वयनको दिशातिर लैजानु पर्छ ।

पछिल्लो समय नेपाल चीनसंग जुन किसिमको सम्बन्ध स्थापना गर्न खोजिरहेको छ । यो कुरामा चिनियाँ पक्षले हामीलाई कत्तिको विश्वास गर्ने अवस्था छ ?

२१ औँ शताब्दी भनेको राजनीतिक र कुटनीतिक सम्बन्धले मात्रै धान्ने समय होइन । अहिले व्यापार र लगानी महत्वपूर्ण छ । अहिले हामीले चीनसंग जुन किसिमको सम्बन्ध स्थापना गर्न खोजिरहेको छौँ, त्यसको अन्तर्य भनेको नेपालको विकास र समृद्धिका लागि हो । जति पनि सम्बन्ध स्थापना हुन्छन्, सन्धि सम्झौता हुन्छन्, ती सबैको निष्कर्ष भनेको समृद्धि हो । त्यस कारण मैले भन्न खोजेको कुरा के हो भने चीनले माया गरेर हामीलाई कनेक्टिभिटीमा लैजान खोजेको होइन । उसका पनि केही स्वार्थ छन् । यसमा भारत, नेपाल र चीन तीनै पक्षले त्रिपक्षीय रुपमा व्यापार बढाउने कुरा हो ।

चीन नेपालको बाटो हुँदै दक्षिण एशिया पस्न चाहन्छ । भारतको पनि त्यही हो, उसले चीनसहित पूर्वी एशियाका देशहरुसंग आफ्नो व्यापार बढाउन चाहेको हुन पनि सक्छ । चिनियाँ रेल नेपाल ल्याउने भनेर अध्ययन सुरु हुँदा भारतले पनि रक्सौलमा अध्ययन त गर्यो नि । भारतको पनि यसमा स्वार्थ छ भन्ने कुरा त देखियो नि । दुबै पक्षले देखाएको यो प्रतिवद्धतालाई नेपालले सही साबित गर्नुपर्छ । त्यसो भएकाले चीनलाई कत्तिको विश्वस्त बनाउने भन्ने कुरा हामीमा निर्भर हुन्छ ।

अन्त्यमा, चिनियाँ राष्ट्र प्रमुखको नेपालमा भ्रमण नभएको पनि धेरै समय भइसकेको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउने भन्ने चर्चा गत एक, दुई वर्षदेखि चल्दै आएपनि भ्रमण हुन सकिरहेको छैन । अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणले सीको नेपाल भ्रमणका लागि कत्तिको बाटो खोलेको छ ?

राष्ट्रपति सीको नेपाल भ्रमण त हुन्छ तर कहिले हुन्छ भन्ने हो । मिडियाहरुले गरेको विश्लेषण अनुसार नै हामीले भन्ने हो । तर २०१६ मा नेपालको तर्फबाट चीन भ्रमण भयो र त्यसपछि सीको नेपाल भ्रमण हुने भन्ने कुरा आएको हो । नेपालको अपेक्षा पनि उहाँको भ्रमण होस् भन्ने हो भने चीनको तयारी पनि थियो । त्यसका लागि राजनीतिक क्षेत्रमा, कुटनीतिक तथा सुरक्षाका क्षेत्रमा छलफल चलिसकेको थियो । तर त्यही समयमा नेपालमा सरकार फेरियो । अहिले समय अनुकुल बनेको छ । राजनीतिक स्थिरता आएको छ । सरकार पूर्ण बहुमतको छ ।

सीको नेपाल भ्रमणको लागि सही समय नै यही हो । भ्रमण अवश्य हुन्छ । राष्ट्रपति विद्या भण्डारीका तर्फबाट प्रधानमन्त्री ओली मार्फत पनि भ्रमणको निमन्त्रणा पत्र सीलाई गइसकेको छ । उपयुक्त समयमा नेपाल भ्रमण गर्छु भन्ने प्रतिक्रिया चीनका राष्ट्रपतिबाट समेत आएको छ । राष्ट्रपति सीलाई कती चाँडो नेपाल ल्याउने भन्ने कुरा हाम्रो पक्षमा निर्भर छ ।